काठमाण्डु, २९ मंसिर– मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमासंघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहित २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले बिहीबार उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालालाई पनि प्रतिवादी कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एक उच्च अधिकृतले जानकारी दिएका छन । असोजमा जाहेरी दर्ता गरेर प्रहरीले धनपालथान–४ घर भएका रोशन राजवंशीलाई पक्राउ गरेको थियो ।
राजवंशी सञ्चालक समिति सदस्य हुन् । सुरुमा १० जना र पछि १६ जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद प्रकाश जोशीले जानकारी दिएका छन ।
उनले भने, ‘उमागौरीको रकम अपचलनमा संलग्न २६ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएर हामीले अनुसन्धान प्रतिवेदन बुझाएका छौँ ।’ प्रहरीको प्रतिवेदनको आधारमा सरकारी वकिलले मुद्दा दायर गरेको हो ।
लेखा समिति सभापति पोखरेल पत्नी अञ्जला उमागौरी पूर्व सञ्चालक हुन् । सहकारी संकटमा परेपछि उनले २०७८ माघ ५ मा राजीनामा दिएको खुलेको छ ।