राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयोः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको दाबी गरेका छन । आज शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभालाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।

उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताएका छन । मन्त्री गुरुङले राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन ।

भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्‍याएको छ।’ उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको पनि बताएका छन ।

उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यो सरकार उत्तरदायी देखिन्छ, तर अझै प्रयास गर्न बाँकी छ।’

मन्त्री गुरुङले आर्थिक संकटको प्रमुख कारण नियमनकारी निकायहरूको कठोर नीतिलाई आरोप लगाउँदै भने,’सहजीकरण गर्नुपर्ने अवस्थामा कठिन नियमन काम गलत हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us