स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ– ओलीको चीन भ्रमण सफल देखिएन

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीको चीन भ्रमणको क्रममा केही नयाँ सहमति नभएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन ।

बैठकको प्रारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबिच भएको १० बुँदे ‘बीआरआई फ्रेमवर्क’ सहमति आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएको योजनामा ओलीले सहमति गरेको बताएका थिए ।

‘केपी ओलीजीको चीन भ्रमणमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता नयाँ होइन । त्यो म प्रधानमन्त्री हुँदा आगाडि बढाएको योजना हो । यसमा कुनै तात्त्विक फरक छैन । उहाँको भ्रमण सफल देखिएन’, प्रचण्डको भनाई उदृद्ध गर्दै उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

यस्तै प्रचण्डले ओली सरकार चौतर्फी अलोकप्रिय बन्दै गएको, देश र जनताको हितमा भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको पुष्टि भएकाले सरकारविरुद्ध सशक्त रूपमा खबरदारी गर्न निर्देशन दिएको गजुरेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us