ओलीलाई बामदेवको फोन, ‘प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनु भन्दिनु !’

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जाली, फटाहा र बेइमानहरूको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेको दाबी गरेका छन । आज शुक्रबार काठमाण्डुमा एमाले निकट आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन । ओलीले एमाले र आफूविरुद्ध माओवादी लागिरहेको दाबी गरेका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘जुन दिन यो देशमा माओवादी पलायो, त्यहीँ दिनबाट जाली, फटाहा र बेइमानहरू सक्रिय छन्’, प्रधानमन्त्री ओलीले भने, ‘माओवादीको नेतृत्वमा यो भइरहेको छ, प्रचण्ड महोदयले यो काम गर्नुभएको छ ।’ उनले हल्ला गरेर र झुट बोलेर समाजमा भ्रम फैलाउने गरेको भन्दै सामाजिक सञ्जालहरुको समेत दुरुपयोग भइरहेको पनि बताएका छन ।

उनले भने, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ । वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिला नै थाहा थियो । तर म चुप लागेँ ।’ बामदेवले आफूसँग कुरा गरेपनि आफ्नो स्वर नचिनेको उनले बताएका छन । ‘अव म बुढो पनि भइसके जे सुकै भएपनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु । मेरै स्वरमा छ ।

अव केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठुलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर’, ओलीले भने, ‘वामदेवजीको फोन आएको देखेपछि राजेशबाट फोन लिएर मैले उठाएँ । कमरेड के छ हालखबर भनेँ ठिक छ भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले भने, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ ।’ प्रधानमन्त्री ओलीले गौतमलाई समेत भ्रम पर्नेगरी आवाज बनाएर युट्यबमा राखिएको बताएका छन । ‘उहाँलाई समेत भ्रम पर्नेगरी ।

भ्रम त पर्नु नपर्ने उहाँ र म नङ र मासु जसरी एउटै यात्रामा अघि बढेका हौँ । मेरो आवाज युट्यबमा चिन्नुभयो तर मसँग कुरा गरेको चिन्नुभएन’, ओलीले भने, ‘एआइको जमाना छ बनाए होला कसैले ।’ उनले कुनै प्रकारको भ्रममा नपर्न आग्रह गर्दै एमालेविरुद्ध लड्न नसकेपनि भ्रम फैलाउने काम भइरहेको बताए ।

उनले भने, ‘नेकपा एमाले स्थापित भयो, त्यसकारण यिनीहरूलाई पिर परेको छ’, ओलीले देशको स्थायित्वका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए । उनले सरकार सफलताका साथ अघि बढेको भन्दै समाजमा पहिलाजस्तो भाँडभैलो नभएको दाबी गरे । उनले देशमा कानुनको राज गराएर र भ्रष्टाचारीलाई कारबाही गराएर छाड्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us