
काठमाण्डु, २८ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको स्थायी समितिको बैठकले गत १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई असफल पारेको निष्कर्ष निकालेको छ ।
माओवादी मूख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस र एमालेको योजनालाई असफल बनाएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।
उनले भने, ‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ ।’
यस्तै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।