माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १२:३० मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी छ । बैठक माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा केहिबेर अधि मात्रै सुरु भएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन ।

आजको स्थायी समितिको बैठकमा सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुने पार्टीका कार्यालय सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिएका छन ।

उनले भने, ‘अहिले १२ बजेबाट बैठक सुरु भएको छ ।’ बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलोगरी सुरु भएको हो । बुधबार दिउँसो ३ बजे नै बस्ने भनिएपनि अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले आजलाई बैठक सारिएको थियो ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us