जीबी राईको राहदानी रोक्का

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते १८:५९ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का गरीएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन । कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया भने यसबारे अनुसन्धान चलिरहेको बताउँदै विस्तृतमा खुलाएनन् । ‘केही कामहरू भइरहेका छन् ।

अनुसन्धानकै क्रममा रहेकाले केही भन्ने अवस्था छैन’ ओलियाले भने ।जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाएको थियो ।

तर त्यतिबेला विभागले जीबीको राहदानी बदर गर्न नमिल्ने भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।राहदानी ऐन २०७६ र नियमावली २०७७ अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष थियो ।

नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ । ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, आतंकवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्नसक्ने व्यवस्था छ ।

त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्नसक्ने ऐनमा व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us