हामी कुनैबेला चिप्लियौं, त्यतिबेला माओवादी भन्न पनि अप्ठेरो भयो: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते १६:४४ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन ।

आज बिहिबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले ०६४ पछि नयाँ बाटो हिँड्ने क्रममा चिप्लिएको पनि स्वीकार गरेका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘पहिला बीचमा हामी चिप्लिँदै गर्दा, जनतासँगको सम्बन्ध बलियो बनाउन नसक्दा माओवादी भनेर छाति खोलेर भन्न पनि अप्ठेरो अप्ठेरो हुने भएको थियो । अहिले विस्तारै आफूलाई माओवादी भन्न गर्व गर्नसक्ने स्थिति आएको छ ।’

उनले अघि भनेका छन्, ‘हामीले बीचमा केही कमजोरी पनि गर्‍यौं । ठाउँ ठाउँमा चिप्लियौं पनि । नयाँ बाटो हिन्दा अलिअलि चिप्लिने हुँदो रहेछ । हामी उद्देश्यबाट चिप्लिएको त होइन । तर कहिले बाँया चाल्नुपर्नेमा दायाँ र दायाँ चाल्नुपर्नेमा बायाँ चालेको कारणले पनि हामी चिप्लियौं ।’ कतिपयले पार्टीको नाम फेर्दा जनताले भोट दिने तर्क गर्ने गरेको भन्दै त्यस्तो नहुने जिकिर गरे ।

‘कतिपय साथीहरूले भन्नुहुन्छ, माओवादी नामले गर्दा बर्बाद पार्‍यो । यो नाम फेर्‍यौं भने जनताले भोट गल्र्यामगुर्लुम दिन्छन् जस्तो गर्छन्,’ प्रचण्डले भने, ‘‘यो चाहीँ पार्टीको नाम, चुनाव चिन्ह वा अरु माओवादी भन्न डराएर हल हुने होइन ।’ सरकारमा हुँदा गरेका केही राम्रा कामहरूको कारण माओवादीप्रति अहिले विस्तारै जनता सकारात्मक बन्दै गएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us