काठमाण्डु, २७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखको नियुक्ति पुस ७ गतेभित्र गरिसक्न निर्देशन दिएका छन ।
आज (बिहिबार) बसेको सिनेट बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले बैठकमा साँच्चैको मेरिटोक्रेसीका आधारमा तथा विश्वविद्यालय चल्न सक्ने गरीमात्र रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्नुपर्ने बताएका छन् । त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्यो ।
शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्नुपर्छ । त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमापर्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो’, प्रधानमन्त्री ओलीले भने, ‘त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ ।
त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु ।’
प्रधानमन्त्रीले सिनेट बैठकहरूलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरूलाई आग्रह गरे । सिनेटका सदस्यहरूले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।