काठमाण्डु, २७ मंसिर– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने लाइ थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आज बिहिबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आाज अदालत उपस्थित गराइएको थियो ।
गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाईलाई अदालतमा उपस्थित गराइएको छ ।
सहकारी सम्बन्धि छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
रवि संलग्न रहेका भनिएका सहकारी रहेको भन्दै पक्राउ पुर्जी जारी भएका जिल्लामा रविको बयान गराइएको छ । बुधबारमात्र रविलाई पर्सा हुँदै काठमाण्डु ल्याइएको थियो ।