काठमाण्डु, २७ मंसिर– एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री समेत रहेका विष्णुप्रसाद पौडेलले एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन । आज (शुक्रबार) पौडेलले रासससँग कुराकानी गर्दै आगामी महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने उनले दाबी गरेका छन ।
उनले भने, ‘अब हुने नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ, ‘अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन ।’ ओलीले एमालेलाई मात्र नभएर सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गरेको पनि उनले बताएका छन ।
उनले भने, ‘एमालेलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन ’ । उपाध्यक्ष पौडेलले एमालेभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद नरहेको बताए । उनले अध्यक्ष ओलीलाई ‘वैधानिक व्यवस्था अनुरूपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाको अध्यक्ष’ का रूपमा चित्रित गरेका छन् ।
‘पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे–जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाँउसम्म आइपुगेको छ,’ उनले भने, ‘उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन ।’ पार्टीभित्र देखिएका केही असहमतिलाई व्यवस्थापन गर्दै एमाले अगाडि बढिरहेको पनि बताएका छन ।
उनले भने, ‘पार्टीभित्र परिस्थिति वा घटना विशेषमा आधारित भएर असहमति वा अन्तरविरोधहरू देखा पर्न सक्दछन् तर हामीले तीनलाई तत्क्षण त्यही ठाउँमा समाधान गर्दै पार्टीको आन्तरिक एकतालाई अक्षुण्ण राख्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउँछौं ।’ओलीको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा नरहेको उनले बताएका छन् ।
उनले भने, ‘उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा छैन । अनि किन खोज्नु पर्यो नेतृत्वको विकल्प ?’ नेतृत्व भनेको रहरको विषय पनि होइन ।
यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा स्वीकार्यताको विषय पनि हो,’ उपाध्यक्ष पौडेलले भनेका छन्, ‘म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन ।’