प्रेस युनियन र चौतारीका उम्मेदार जिताउन काँग्रेस–एमाले संयन्त्रको निर्देशन

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते ८:५५ मा प्रकाशित

चितवन, २७ मंसिर–सत्तारुढ काँग्रेस र एमालेले शुक्रबार हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा आफू निकट उम्मेदवार जिताउने निर्णय गरेका छन् ।

पत्रकार महासंघजस्तो व्यवसायिक संस्थाको निर्वाचनमा दलीय उम्मेदवार जिताउन दुई सत्तारुढ दलले अपिल गरेकामा धेरैले आपत्ति जनाएका छन् ।
काँग्रेस चितवनका अध्यक्ष कमलराज पाठक र एमाले चितवनका अध्यक्ष राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै दुई दल समर्थित उम्मेदवार जिताउन अपिल गरेका हुन् । काँग्रेस र एमाले सम्मिलित जिल्ला स्तरीय राजनीतिक संयन्त्रका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरिएको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै पेसागत हक हित र ट्ेड युनियनको अधिकारको संरक्षण तथा सूचनाको हक र व्यवसायिक पत्रकारिताको विकास र विस्तार गर्दै लोकतन्त्रको संस्थागत विकास, मुलुकको शान्ति र समृद्धिका लागि समेत प्रेस जगतको यसप्रकारको समझदारी कोसेढुंगा साबित हुने ठहर गर्दै उन्नत प्रकारको समझदारीलाई परिणाममुखी बनाई पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवारलाई विजयी गराउनुहुन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाललगायत सम्वद्ध पत्रकार जगतलाई जिल्लास्थित राजनीतिक संयन्त्रको तर्फबाट हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

महासंको केन्द्र, प्रदेश र जिल्ला नेतृत्व चयनका लागि शुक्रबार एकै दिन निर्वाचन हुँदैछ । निर्वाचनमा काँगेस र एमालेले जिल्ला तहसम्मै तालमेल गरेका छन् ।

माओवादी केन्द्रनिकट प्रेस सेन्टर, काँग्रेसनिकट प्रेस युनियनको विद्रोही समूह, एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन लगायतले पनि ठगबन्धन गरेका छन् ।

चौतारी र युनियनले निर्मला शर्मा र सेन्टर, युनियनको विद्रोही समूह र समाजवादी प्रेस संगठनले महासंघका निवर्तमान वरिपठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा प्यानल बनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us