काठमाण्डु, २७ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
पछिल्लोपटक सकिएको ४ दिनको म्याद सकिएकाले सहकारी ठगी कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, गोर्खा मिडियाका सञ्चालक नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, गोर्खा मिडियाका अध्यक्ष जीवी राईका व्यवसायिक साझेदार रामबहादुर खनाल र लिला पछाइलार्ई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।
प्रहरीले लामिछानेलाई गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरी पोखरा लगेको थियो । प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुगेकाले अन्तिमपटक म्याद थप गरी मुद्धा अदालतमा बुझाउने तयारी भइरहेको बताएको छ । लमिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा संलग्न रहेको आरोप लगाइएके छ ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, कठमाण्डुको स्वर्णलक्ष्मी, चितवनाको साहारा र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा अपचलन गरेको आरोपमा लामिछानेलाई कास्कीबाट पालैपालो ती जिल्लास्थित जिल्ला सरकारी वकिल र प्रहरीमा लगेर बयान लिइएको छ ।
सहकारी ठगीमा मुछिएका सत्तारुढ काँग्रेस र एमालेका नेतालाई छानबिनको दायरा बाहिरै राखेर लामछिानेमाथि प्रतिशोधपूर्ण ढंगले एकपछि अर्को जिल्ला घुमाइएको भन्दै विपक्षी दल र आमसर्वसाधारणले सरकारको आलोचना गरिरहेका छन् ।