तेह्रथुम, २६ मंसिर– प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् ।
बुधवार तेह्रथुममा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् ।
आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शय्याको अस्पताल निर्माण गर्न सुरू गरेको र अहिले सयभन्दा बढी सञ्चालन भइरहेको उनको भनाइ छ ।
आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको दाबी गर्दै उनले भने, ‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ । त्यसका लागि बजेट छुट्याएको थियो। जसमा अहिले लगभग सय वटा अस्पताल चलिसके होलान् । मैले नै अहिले आएर धेरै वटा उद्घाटन पनि गरेँ । म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो। म आएको छु, फेरि देश हिँड्छ ।’
प्रधानमन्त्री ओलीले देशभरका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए ।