विद्यार्थी फेल हुनु एक प्रकारको अपराध होः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने बताएका छन ।

आज (बुधबार) आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘एसईईमा विद्यार्थी पास भएनन् भने उनीहरूको भविष्य समाप्त हुन्छ । एसईईभन्दा माथि जान नसक्दा उनीहरूमा निराशा उत्पन्न हुन्छ । विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो,शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ । विद्यार्थीहरूले मेहनत गर्नुपर्छ । पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन् ।

म सबै विद्यार्थी भाइबहिनीहरू र शिक्षकलाई यस गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरूको पनि स्मरण गरे । उनले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवादसमेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us