आज पनि पोखरामा रास्वपाको प्रदर्शन

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बुधबार पनि पोखरमा प्रर्दशन सुरु गरेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेको पक्राउ पछि रास्वपाले देशका विभिन्न स्थानमा प्रर्दशन गर्र्दै आएको छ ।

पोखराको पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । सभापति रवि लामिछानेलाई पनि भर्खरै पोखरा पुर्‍याइएको छ । वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले केहीबेर अघि रविलाई पोखरा पुर्‍याएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाइरहेका छन् । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्‍याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us