नेपालले बेमौसमी वर्षा र बाढीबाट धेरै क्षति बेहोरेको छः भौतिकमन्त्री दाहाल

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– भौतिक पूर्वधार तथा यातायातान्त्री देवेन्द्र दाहालले नेपालमा बेमौसमी वर्षा र बाढीका कारण नेपालले धेरै क्षति बेहोर्नु परेको बताएका छन ।

आज (मंगलबार) फिलिपिन्सको मनिलामा जारी ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औं उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन ।

उनले जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनु पर्ने पनि बताएका छन । मन्त्री दाहालले स्वच्छ ऊर्जाको उपयोगलाई प्रोत्साहन गरी विश्वव्यापी प्रदूषण नियन्त्रणमा लाग्नु अहिलेको आवाश्यक्ता रहेको पनि बताएका छन ।

दिगो विकास लक्ष्यका लागि सहरी गतिशिलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तिकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने कार्यक्रम छ । विभिन्न शत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफलको कार्यक्रम रहेको छ । सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदूषण सम्बन्धी लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका छ ।

मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us