रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– सर्वेच्च अदालतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी जवाफ माग्ने आदेश गरेको छ ।

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो ।

‘अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्न खोजेको’ आरोपसहित उनले निवेदनमा कानुनी प्रक्रिया र फौजदारी न्याय प्रणालीमा अवरुद्ध पार्न खोज्ने रास्वपाका पदाधिकारीहरूलाई अवहेलनामा कारबाही हुनुपर्ने माग गरेका थिए ।

रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बागमती प्रदेशका सभापति डा.अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा लगायत रवि लामिछानेबाहेक २० जना सांसदलाई अवहेलनाको निवेदनमा विपक्षी बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us