काठमाण्डु, २५ मंसिर– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने पक्का भएको बताएका छन ।
आज मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि संस्थापन पक्षलाई चुनैती दिएका छन ।
गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ओहोदा दिएको स्मरण गर्दै उनले ४१ प्रतिशत मत ल्याएको शेखर कोइरालालाई कोही हैन भन्ने व्यवहार अन्त्य गर्न चुनौती दिएका हुन । नेता शर्माले भने, ‘उहाँहरूले यहीँ रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ ।
०८४ अगाडी कांग्रेस दुर्घटनामा जान सक्छ ।’ उनले यसका विरुद्ध देशभर गएर कार्यक्रम गर्ने भन्दै पुस ५ गते धनगढीमा कार्यक्रम आयोजना गरीएको पनि बताएका छन ।
नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउँदै भने‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ ।
सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’सभापति देउवाको तारिफ गर्दै उनले देउवामा आफूले बिपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको पनि बताएका छन ।