रविलाई गरिएको व्यवहारबारे आयोगले थाल्यो प्रहरी अधिकारीमाथि अनुसन्धान

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– राष्ट्रिय मानवअधिकार आयोगले सहकारी ठगी प्रकरणमा पक्राउ परेर थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा प्रहरी उच्चअधिकारीहरुसँग जानकारी लिँदै अनुसन्धान सुरु गरेको छ ।

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको उजुरीमा विषयमा अनुसन्धान सुरु गरीएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले जानकारी दिएका छन ।

उनले भने, ‘घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्च अधिकारीहरुसँग आज आयोगले थप जानकारी लिएको छ, ‘जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूति सहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो । ’

यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us