काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको दाबी गरेका छन ।
आज सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले भने, ‘यो सरकारले प्रतिनिधिसभा सकेसम्म धकेल्न बल गर्दैछ भन्ने हामीलाई सूचना प्राप्त छ ।’ साथै, उनले आवश्यक परेको खण्डमा आफूहरू विशेष अधिवेशन बोलाएर संघर्ष सुरु गर्ने पनि बताएका छन ।
अध्यक्ष प्रचण्डले भने, ‘हामीले जरुरि पर्यो भने विशेष अधिवेशन बोलाएर संघर्षको सुरुवात सदनबाट गरिनेछ । एजेन्डा सेट सदनबाट गरिनेछ ।
ती एजेन्डाको आधारमा सडकमा लाखौं जनतासँग मिलेर प्रतिक्रियावादीको तमाम षड्यन्त्र चकनाचुर पार्नसक्ने तागत हामीसँग छ । हामी प्रतिपक्षी जति सबैले त्यो अठोट लिएका छौं ।’