माओवादीप्रति जनताको भरोसा बढ्दै गएको छः अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको बताएका छन ।

आज (सोमबार) राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले विचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ ।

उनीहरू त खाली मुखौटा मात्रै हुन् ।’ साथै, उनले रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गरे ।

अध्यक्ष प्रचण्डले थपे, ‘विचौलियाहरूले घुमाएर, आ–आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरूबाहेक केही पनि देखिएन ।’

साथै, उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us