मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छुः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही समयपछि आफू भारत भ्रमणमा जाने बताएका छन ।

आज (आइतबार) झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ ।

चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’ उनले आफू संयूक्त राष्ट्रसंघको भ्रमणमा गएका बेला आठ दिनमै ४३ वटा कार्यक्रम सकेर फर्किएको पनि सुनाए । ‘अस्ति संयुक्त राष्ट्रसंघको भ्रमणमा गएँ, र १० दिनमा नेपाल आइपुगेँ । ८ दिनमा ४३ वटा कार्यक्रम गरेर म फर्किएँ ।’

फरक प्रसंगमा प्रधानमन्त्री बनेपछि देशमा बिग्रिएको अर्थतन्त्र सुधारका लागि धेरै व्यस्त बन्नुपरेको पनि बताएका छन । उनले भने, ‘म प्रधानमन्त्री भएपछि धेरै व्यस्त भएँ । देशको अर्थतन्त्र धेरै तल गिराइएको रहेछ । त्यो ढुकुटीमा पैसा थोपो छैन ।

तिर्नुपर्ने धेरै रहेछ । त्यस्तो अवस्थामा सरकार पुगेको रहेछ । राज्य पुगेको रहेछ । त्यस स्थितिबाट फर्काउनका लागि धेरै मेहनत गर्नुपर्ने थियो ।

त्यसमा म लागेको थिएँ ।’ ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर नै आएको दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us