रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

गत २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको रास्वपाले मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेख गरएिको छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको रास्वपाले जनाएको छ ।

गत २० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको रास्वपाले जनाएको छ । रास्वपाले मानव अधिकार आयोगमा दिएको उजुरीमा भनिएको छ, ‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो ।

सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ ।’ राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख गरेको छ ।

लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us