काठमाण्डु, २३ मंसिर– प्रहरीले कैलालीबाट १२ ग्राम लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय महेश भट्ट, वडानम्बर ७ बस्ने १८ वर्षीय राजेश राना र २५ वर्षीय राम गोपाल रानालाई रहेका छन् ।
भट्टलाई दुई ग्राम ४७० मिलिग्राम, रानालाई एक ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।
कैलालीको धनगढी उपमहानगरपालिकासहितका ठाउँबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । यस्तै, जानकी गाउपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावललाई शंका लागि चेकजाँच गर्दा तीन ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको उनले जानकारी दिएका छन ।
धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिक बस्ने २८ वर्षीय गोपाल रामजालीमगरलाई ५१० मिलिग्राम र वडा नम्बर ८ संगम टोल २८ वर्षीय सुरेश चौधरीलाई एक ग्राम ५९० मिलिग्राम र वडा नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई एक ग्राम ८४० मिलिग्रामसहित पक्राउ गरिएको छ ।
सातै जनाबाट बरामद गरिएको लागुऔषध खैरो हेरोइनको तौल ११ ग्राम ७३० मिलिग्राम रहेको कैलाली प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।