तीन वामपन्थी शक्तिबीच एकताबारे सकारात्मक कुरा भएको छ: प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १८:५२ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटा वामपन्थी दलका नेताहरुसँग एकताका लागि वार्ता भएको बताएका छन् ।

शनिबार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीनिकट शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमा प्रचण्डले राजनीतिक ध्रुविकरणको विषयमा भएको उक्त छलफल सकारात्मक भएको पनि बताएका छन् ।

‘आज बिहान मात्रै एकताको सन्दर्भमा, राजनीतिक ध्रुविकरणकै सन्दर्भमा तीन वटा वामपन्थी पार्टीका नेताहरुसँग मेरो संवाद भएको थियो । बढो सकारात्मक संवाद भएको छ’, उनले भने।

अध्यक्ष प्रचण्ड को–को सँग छलफल भएको भन्ने विषय भने खुलाएनन । ती हिजोका माओवादी धारसँग सम्बन्धित र त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारसँग सम्बन्धित दल पनि रहेको उनको भनाइ थियो ।

उनले नेपालको वामपन्थी आन्दोलनको अगाडि, नेपालको लोकतान्त्रिक आन्दोलनको आवश्यकताको अगाडि वा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र त्यसलाई परिमार्जन गर्नका निम्ति पनि एकताको विकल्प छैन भन्ने कुरामा सैद्धान्तिक सहमति भएको बताए ।

‘बिहान मात्रै तीन वटा राजनीतिक दलसँग एकताको कुरा हुनु सकारात्मक र अहिले दुई शिक्षक संगठन एकतावद्ध हुने घोषणा गर्नु यो संयोग मात्रै मलाई लाग्दैन । यो अहिले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो’, उनले भने । न्यूज एजेन्सी नेपालबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us