राजनीतिक कोर्स बदल्नुपर्ने बेला आयोः प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १८:३५ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् ।

शनिबार राजधानीमा पार्टीनिकट गोरखा–काठमाण्डु सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्नेमा जोड दिए ।

आफ्नो दलले चुनवाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा पुँजिवादीहरुले त्यसलाई यथास्थितिमा राख्ने र आफुहरुले जनताको गणतन्त्र बनाउन खेज्दा टकराब हुने विश्लेषण गरेको स्मरण गर्दै उनले अहिले त्यही समय आएको बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय प्रणाली र पूर्ण समानुपाकि प्रणालीबाट सांसद छान्ने विधिमा जानुपर्ने औंल्याए । यस्तै उनले सांसदलाई मन्त्री नबनाउने र विज्ञहरुमध्येबाट मन्त्री बनाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा उनले जनतामा अरु दलभन्दा माओवादी नै राष्ट्र र परिवर्तनप्रति इमान्दार रहेछ भन्ने महसुस हुँदै गएको दाबी पनि गरे ।

आफूलाई सरकारबाट बाहिर पठाएर विरोधीहरुले पार्टीलाई जनतातर्फ फर्कने अवसर दिलाएको तर्क उनको छ ।

माओवादी केन्द्र जनतातर्फ फर्कन थालेको र त्यसले देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए ।

केही जिल्लामा पार्टी ०६४ कै अवस्था फर्कने थालेको भन्दै उनले हालै सम्पन्न उपनिर्वाचन परिणमले त्यसको पुष्टि गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us