विराटनगर, २२ मंसिर– कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्व गलत बाटोमा हिंडेको बताएका छन् ।
पार्टीको कोशी प्रदेशको पहिलो सम्मेलन उद्घाटन सत्रमा शनिबार बोल्दै उनले नेताहरु गलत बाटोमा हिंडिरहेको टिप्पणी गरेका हुन् ।
नेताहरु व्यक्तिगत स्वार्थको बाटोमा हिंडेका कारण आफूहरुको लक्ष्य नै धमिलो भएको कोइरालाको टिप्पणी थियो । उनले आफू हिंडेको बाटोबारे समीक्षा गर्न नेतृत्वलाई आग्रह पनि गरे ।
‘हामी कुन बाटोमा कता गइरहेका छौं ? एकचोटि आफैलाई निरीक्षण गरेर भनौं । हामी ठीक बाटोमा हिंडिरहेका छौं कि छैनौं ?’, उनले भने, ‘मलाई त लाग्छ हामीहरु ठीक बाटोमा हिंडिरहेका छैनौं । नेतृत्व व्यक्तिगत स्वार्थबाट बाटो अघि बढेका कारण हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’
कोइरालाले राजनीतिमा परको सोच्नुपर्ने भए पनि काँग्रेसको वर्तमान नेतृत्वले तत्कालका लागि मात्र सोचेको र स्पष्ट लक्ष्य पनि नभएको आरोप लगाए ।
अर्का नेता शेखर कोइराला भने आफ्नै गृहनगरमा आयोजित पार्टीको प्रदेश सम्मेलन बहिस्कार गरेर चितवन पुगेका छन् ।