‘पूर्णबहादुरको सारङ्गी’ देशभरका हलबाट उतार्ने निर्माताको घोषणा

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर–नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन नहुने भएको छ ।

निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभरका हलबाट उक्त चलचित्र उतार्ने जानकारी दिएका हुन् ।

केही हलले चलचित्रप्रति गरिएको नराम्रो व्यवहारका कारण उक्त निर्णय लिनुपरेको विज्ञप्तिमा उल्लेख छ ।

‘पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही सिनेमा घरहरूबाट गरिँदै आएको व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको छ’, विज्ञप्तिमा छ ।

उक्त चलचित्रले हालसम्म ४७ करोड रुपैयाँ कमाइसकेको छ । नेपाली चलचित्रले कमाएको यो हालसम्मकै सर्वाधिक धेरै हो ।

भारतीय चलचित्र पुष्पा–२ प्रदर्शनमा आएसँगै हलहरुले ‘पूर्णबहादुरको सारङ्गी’ को सो घटाएका थिए ।

‘पूर्णबहादुरको सारङ्गी’ गत १५ कात्तिकदेखि प्रदर्शमा आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us