देश काँग्रेस र एमालेले बिगारेका हुन्ः रास्वपा

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १४:११ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुले पुराना दल काँग्रेस र एमालेले देश बिगारेको आरोप लगाएका छन् ।

पार्टीको प्रथम भक्तपुर जिल्ला भेलालाई मध्यपुर थिमीमा सम्बोधन गर्दै उपाध्यक्ष डिपी अर्यालले पटकपटक सरकारमा पुगेर काँग्रेस र एमालेले भ्रष्टाचारबाहेक केही नगरेको आरोप लगाए ।

मुलुकका लागि केही गरौं भन्ने भावनाका साथ आएका नयाँ दल र व्यक्तिहरुमाथि काँग्रेस–एमालेले दुश्मनी साँधेको उनको टिप्पणी थियो ।

उनले आफ्ना सभापति रवि लामिछानेलाई केपी ओली नेतृत्वको सरकारले अनाकहमा दुःख दिइरहेको आरोप लगाए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनले लामिछानेमाथि राजनीतिक प्रतिशोधका आारमा दुःख दिने काम भइरहेको बताए ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै आपत्ति जनाए ।

प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेका कारण मुलुकमा कुशासन बढेको आरोप लगाए ।

काँग्रेसले बीपी कोइराला र एमालेले मदन भण्डारीको बाटो छाडेकाले मुलुकमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाडेको तथा युवा शक्ति विदेश पलायन हुन बाध्य भएको टिप्पणी परियारले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us