काठमाण्डु, २२ मंसिर– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) फ्रेमवर्कमा नेपाल र चीनबीच समझदारी भएकामा खुसी प्रकट गरेका छन् ।
चीन भ्रमणबाट शनिबार फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बीआरआई परियोजना अघि बढेकामा खुसी व्यक्त गरेका हुन् ।
बीआरआई गर्नु नै थियो भने किन यति धेरै नाटक गरेको भन्दै खनालले प्रश्न गरे । प्रधानमन्त्री केपी ओलीले दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै कटाक्ष गरे । ‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्यो ? छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन । संसारसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छ ?’, खनालले प्रश्न गरे ।
पहिल्यै अध्ययन गरेर राम्रो गृहकार्यका साथ बीआरआईमा समझदारी गर्नुपर्नेमा छिमेकीसँगको सम्बन्धमा लापरबाही गरिएको उनको भनाइ थियो ।
‘धेरैपटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ। यो चाहिँ खुसीको कुरा हो’, खनालले भने ।
उनले बीआरआई अगाडि बढाउन नेपालले ढिलाइ गरेकोप्रति चिनियाँ पक्षले आफूसँग पनि चासोपूर्वक कुरा गरेको बताए ।