काठमाण्डु, २१ मंसिर– कांग्रेस सभापति शेरबहदुर देउवा र नेता शेखर कोइरालाबीच दूरी बढेको छ ।
देउवा काँग्रेस कोशी प्रदेशको शनिबार हुने सम्मेलन उदघाटन गर्न शुक्रबारै विराटनगर पुगिसकेका छन् ।
तर, कोइराला भने आफ्नो गृहनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका छन् । सम्मेलन बहिस्कार गरेर देउवालाई चुनौती दिएको सन्देश दिन उनी चितवन जाँदैछन् ।
कोइराला चितवनमा दुई फरक शोकसभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ । काँग्रेस चितवनका नेताहरु उद्धव लोहनी र दिनेश कोइरालाका पिताको फरकफरक शोकसभामा कोइराला सहभागी हुने भएका छन् ।
श्रोतका अनुसार प्रदेश अधिवेशनको औपचारिक समारोहको मञ्चमा सभापति देउवापछिको वरियतामा आफू हुनुपर्ने अडान कोइरालाले राखेका थिए ।
तर, पार्टी केन्द्रको वरियताअनुसार मात्र उनलाई मञ्चमा बोलाइने भएपछि कोइराला प्रदेश अधिवेशन बहिस्कार गरेर चितवन जान लागेका हुन् ।
कोइरालाले तीन दिनअघि आफूपक्षधर कोशी प्रदेशका १ सय १३ पालिका सभापतिको भेला राखेका थिए । उक्त भेलालाई संस्थापन पक्षले गुटबन्दीको संज्ञा दिउको छ ।