फेरि बढ्यो अण्डाको मूल्य

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते २०:२६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– शनिबारदेखि लागू हुने गरी अन्डाको मूल्य बढेको छ ।

नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अन्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अन्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रुपैयाँ चार सय ७० र मझौलाको रुपैयाँ चार सय ५५ कायम गरिएको छ ।

पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अन्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अन्डाको मूल्य वृद्धि भएको बताए । उनका अनुसार यसअघि अन्डाको मूल्य पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो ।

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अन्डाको मूल्य वृद्धि भएको बताए ।

हाल दैनिक २२ लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us