काठमाण्डु, २१ मंसिर– नेपाल पत्रकार महासंघको महाधिवेशनमा सरकारमा रहेका दुई दल एमाले र काँग्रेसले चुनावी तालमेल गरेका छन् ।
काँग्रेस पत्रकारको संस्था प्रेस युनियन र एमाले पत्रकार संगठन प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका हुन् ।
महासंघको निर्वाचन आगामी २८ मंसिरमा हुँदैछ ।
अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीमा शुक्रबार कांग्रेस–एमाले निकटले साझा उम्मेदवारी दिएका हुन् । अध्यक्षमा प्रेस चौतारीबाट निर्मला शर्माले उम्मेदवारी दर्ता गराएकी छन् ।
अध्यक्षसहित ५ पदाधिकारी चौतारी र वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी युनियनले लिने सहमति भएको ती दुई संगठनले जनाएका छन् ।
युनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारीलाई उम्मेदवार बनाएको छ ।
प्रेस चौतारीबाट अध्यक्षमा शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासनले उम्मेदवारी दिएका छन् ।
कांग्रेस–एमालेले प्रदेश र जिल्लाको महासंघमा पनि भागबन्डा गरेका छन् । प्रेस युनियनले बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएको छ ।
कोसी, मधेस, कर्णाली र उपत्यका प्रदेशको अध्यक्ष चौतारीले लिने सहमति छ । यस्तै महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको हो ।
कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेका काँग्रेस–एमालेले पत्रकारको संगठनमा भने तालमेल गरेका छन् ।