रविलाई रातारात पोखरा लानु सरकारको निकृष्ट कार्य: रास्वापा

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ ।

चितवनमा सहकारीको रकम अपचलनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो ।

सरकारको यस कार्यलाई आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना भएको रास्वापले प्रतिक्रिया दिएको छ । सरकारको कार्यलाई रास्वपाले गैरन्यायिक चाल भएको बताएको छ ।

सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाले आरोपनि लगाएको । ‘सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ ।

यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ,’ कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सरकारको कार्य संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत भएको रास्वापाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us