विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते १५:४० मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका– ८ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ मध्ये सुमितले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र इच्छाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

पीडितहरूको सोही उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई काठमाण्डुको भाटभटेनीबाट मंगलबार र इच्छालाई काठमाण्डुको पासीकोटबाट बुधबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us