दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १७:५३ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– जिल्ला अदालत काठमाण्डुबाट पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाण्डुबाट बाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।

नेपाल पहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंसिर ४ मा पक्राउ गरेको थियो । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको पाइएको छ ।

उनको बयानको आधारमा प्रसाईं पनि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएको सिआइबीले जनाएको छ । भारतबाट ह्वाट्स एप मार्फत धम्की दिएपछि सो कुराकानीको अडियो रेकर्ड उनले मेडिकल व्यवसायी प्रसाईंलाई पठाउने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।

उनले भने, ‘व्यवसायीलाई धम्की दिएको अडियो प्रसाईंलाई पठाएको भेटिएको छ ।’ झापाको चारआली घर भएका फुयललाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाण्डुमा ल्याएर अनुसन्धान गरिरहेको छ ।

फुयलले भारतीय टेलिकम कम्पनी एयरटेलको दुई वटा सिम लिएर नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us