समर्थकलाई झुक्याएर रविलाई रातारात पोखरा लगियो

काठमाण्डु टुडे २०८१ मंसिर २० गते ८:५९ मा प्रकाशित

पोखरा, २० मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले राति नै चितवनबाट पोखरा लगेको छ ।

उनलाई गएराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको हो । लामिछानेलाई मंगलबार साहारा चितवन सहकारीको रकम हिनामिना सम्बन्धमा बयान लिन काठमाण्डुबाट चितवन लगिएको थियो ।

मंगलबार र बुधबार गरी १५ घण्टासम्म जिल्ला न्यायाधिवक्ताको उपस्थितिमा बयान लिएपछि उनलाई पोखरा लगिएको हो ।

बुधबार लामिछानेको बयान जारी रहेका बेला जिल्ला सरकारी वकिल कार्यालय चितवन बाहिर रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

दिउँसोमा पोखरा लैजाँदा फेरि प्रदर्शन हुने राति नै उनलाई गाडीमार्फत पोखरा लगिएको चितवनका एक प्रहरी अधिकृतले बताए ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको कसुरमा गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरेर उनर्लाइ प्रहरीले पोखरा लगेको थियो ।

काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयान लिन पोखराबाट १३ असारमा उनलाई जहाजमार्फत काठमाण्डु ल्याइएको थियो ।

त्यस क्रममा पनि काठमाण्डु विमानस्थलबाहिर रास्वपा कार्यकर्ताले लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us