काठमाण्डु, २० मंसिर– एमाले सांसद सूर्य थापाले चीनले प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरुको
गृहजिल्लामा सम्मान र सदभाव स्वरुप विकास आयोजना दिएको दाबी गरेका छन् ।
थापाले चीनले वर्तमान र पूर्वप्रधानमन्त्रीको गृहजिल्लामा सदभावपूर्वक सभाहल र बिजनेश पार्क बनाइदिन लागेको थापाले बताए । देउवा र ओलीले मागेको नभई ती योजना चीनले उनीहरुको सम्मानस्वरुप दिएको जिकिर गरे ।
ती दुई योजना चानचुने नभएकाले खिसीट्युरी नगर्न भने । ‘नेपालमा प्रधानमन्त्री बन्न प्रत्यक्ष चुनाव जितेर आउनुपर्छ भन्ने चीनलाई थाहा छ । त्यसैले दुई मुख्य नेताहरु प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका जिल्लामा सदभाव र सम्मानपूर्वक चीनले ती योजनामा सहयोग गरेको हो’, थापाले भने, ‘ती योजना चानचुने हाइनन् ।’
केही नहुनुभन्दा दुई प्रधनमन्त्रीको जिल्लामा रंगशाला र सभा हल बन्नु राम्रो भएको तर्क उनको छ । थापाले झापा र डडेल्धुरा पनि नेपालमै पर्ने भन्दै छिमेकीले सदभावपूर्वक दिएको सहयोगबारे अनावश्यक प्रचार नगर्न भने । ‘झापा, काठाण्डु वा डडेल्धुरा जहाँ भए पनि नेपालमै बनाउने हो नि । नेपालभनदा बाहिर त होइन नि’, उनले भने ।
थापाले तीव्र आर्थिक विकास गरिरहेका भारत र चीनले नेपाललाई माथि उठाउन सहयोग गर्नैपर्ने बताए । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा खेलकुद रंगशाला र देउवाको गृहजिल्ला डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेका थिए ।
ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको शिष्टाचार र प्रधानमन्त्री ली खछ्याङसँगको द्वपक्षीय भेटमा मंगलबार सो आग्रह गरेका थिए ।
भेटपछि जारी १२ बुँदे संयुक्त वक्तव्यमा ती दुई योजना पनि परेपछि आफ्नो गृहजिल्लालाई मात्र प्राथमिकतामा राखेको भन्दै ओली र देउवाको विरोध भइरहेको छ ।