विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छः सभापति देउवा

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १९:०२ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताएका छन ।

आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै सभापति देउवाले यस्तो बताएका हुन ।

सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको बताएका छन ।

उनले यी तीन वटै विधेयकहरू छिटो ल्याउन कांग्रेसले पहल गर्ने पनि बताएका छन । उनले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो रूपमा देखिएको पनि बताएका छन ।

उनले मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताए । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको सभापति देउवाले बताएका छन ।

सभापति देउवाले युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको पनि बताएका छन । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको पनि उनले बताएका छन ।

सभापति देउवाले भने, ‘मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ ।

यी र यस्तै समस्याहरूको समाधानको ठोस उपाय खोज्नको लागि यस्ता बहस र कार्यक्रमहरूलाई निरन्तरता दिनु आजको आवश्यकता हो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us