देउवाको घर र गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटा पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १७:५० मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– प्रहरीले पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई नियन्त्रणमा लिएको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको टावरमा पनि विस्फोट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ । भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोप छ ।

उनले आफूलाई नेकपा (माओवादी)को महासचिव बताउने गरेका छन । चन्दा सङ्कलन गरेको भेटेपछि उनलाई पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन । उनले भने, ‘चन्दा उठाउने रसिद र चन्दाको विवरण पनि बरामद गरेका छौँ ।’०८१ भदौ २८ मा झापाको गिरीबन्धु टी–स्टेट अगाडी विस्फोटक पदार्थ भेटियो ।

विस्फोटक पदार्थ राखेको ठाउँमा नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको लेटरप्याडमा ‘गिरबिन्धु टी–स्टेट कब्जा किन ?’ भन्ने पर्चा छाडिएको थियो । सो घट्नामा संलग्न मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय घर भएका धिरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

गिरिबन्धु टि स्टेटमा विस्फोटक पदार्थ राख्ने मुख्य योजनाकार गौरव भएको खुलेको छ । पर्सा जिल्लाको मुद्दा टुङ्गो लागेपछि उनलाई अनुसन्धानका लागी झापा पनि पठाइने नेपाल प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएका छन । । उनले भने, ‘गिरीबन्धुमा उसकै योजनामा विस्फोटक पदार्थ राखेको देखिन्छ ।’

२०८१ भदौ ९ मा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि बम भेटियो । घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो ।

सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी जाँदा त्यहीँ बस्छन् । त्यहाँ विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us