कानुन मन्त्रालय र अख्तियारको नम्बर प्लेट राखेर गाँजा तस्करी

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– प्रहरीले दुई वटा सेतो नम्बर प्लेटको गाडीमा तस्करी हुँदै गरेको ठूलो परिणामको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनकुटाबाट ल्याउँदै गरेको अवस्थामा धरानबाट प्रहरीले ६९० किलो गाउँजासहित एक जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । एक जना भने अझै फरार छन् ।

प्रहरीले गाँजा नियन्त्रणमा लिनका लागि चार राउण्ड फायर गरीएको पनि प्रहरीले जानकारी दिएको छ । बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बर प्लेटको सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

गाँजा तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले जानकारी दिएका छन ।

उनले भने, ‘निजी गाडीलाई नक्कली सरकारी नम्बर प्लेट राखिएको छ, ‘यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’तस्करको समूहले यसअघि एम्बुलेन्स, इन्धन बोक्ने ट्यांकरमा पनि गाँजा तस्करी गरेको थियो ।

पछिल्लो समय सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको हो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट गाडी मंगलबार साँझ नियन्त्रणमा लिएको थियो ।

सवारीसाधनहरू चेकजाँचका क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडी भागेपछि प्रहरीले गोली चलाएको थियो । यो गाडीलाई धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएका थिए ।

सरकारी नम्बर प्लेट राखिएको ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार तस्करको समूहले सघिय सरकारको कानुन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर तस्करीमा प्रयोग भएको गाडीमा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us