रवि लाछिानेलाई घुमाइरहने सरकारको नीति, फेरि चितवन लगियो

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते ९:२६ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।

लामिछानेलाई मंगलबार बुद्ध एयरको जहाजमार्फत काठमाण्डुबाट चितवन लगिएको हो । यसअघि कालिमाटीस्थित स्वर्णलक्ष्मी बतथ तथा ऋण सहकारीको रकम अपचलन सम्बन्धमा बयानका लागि उनलाई १३ मंसिरमा पोखराबाट काठमाण्डु ल्याइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय र काठमाण्डु परिसरले उनीसँग शुक्रबार, आइतबार र सोमबा गरी तीन दिन बयान लिएको थियो ।

त्यस क्रममा उनले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याइएको विषयमा आफू जानकार नभएको बयान दिएका छन् ।

प्रहरीले लामिछानेलाई चितवनको सहारा बचत तथा ऋण सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएको अभियोगमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ आदेश जारी गराएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई गत २ कात्तिकमा वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा लगेको थियो । पोखराबाटै यसअघि उनलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा बयान लिन रुपन्देही लगिएको थियो ।

चितवनमा बयान सकिएपछि उनलाई पोखरा लैजाने तयारी छ । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा छानबिन गरिहरेको छ ।

सहकारी ठगी छानबिन गर्न एमाले सांसद सूर्य थापा नेतृत्वमा गठित संसदीय विशेष समितिको प्रतिवेदनमा गोर्खा मिडियामा विभिन्न सहकारीबाट रकम ल्याउने भूमिकामा लामिछाने संलग्न नभएको उल्लेख छ ।

तर, सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नेमा भने भूमिका देखिएकाले उनीमाथि छानबिन गर्न समितिले सिफारिस गरेको थियो ।

लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशकको भूमिकामा रहँदा आफूले रकम चलाए पनि सहकारी ठगीमा भने संलग्न नरहेको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us