काठमाण्डु, १७ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५।१ ओभरमै २ विकेट गुमाएर पूरा गर्न सफल भएको हो । ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्न सफल भएका थिए ।
अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन बनाउन सफल भएका थिए ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाउन सफल भएक थिए ।
जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।