काठमाण्डु, १६ मंसिर– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आज आइतबार ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।
निक्षेप संकलन बोलकबोल मार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल हो । यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ ।
जसले बजारमा अधिक रहेको तरलता प्रशोचन हुन्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संलन गर्न सकिने व्यवस्था पनि छ । जसलाई स्थायी निक्षेप सुविधा पनि भनिन्छ ।
राष्ट्र बैंकले तरलता प्रशोचनका लागि दुवै विकल्प प्रयोगमा ल्याएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि अन्तरबैंक ब्याजदर घट्दै जाँदा राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने गर्छ ।
मौद्रिक नीतिमा केन्द्रीय बैंकले अन्तरबैंक दर नीतिगत दरको करिब राख्ने घोषणा मौद्रिक नीतिमा गरेको थियो । तर, त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराएको र निक्षेप बोलकबोल समेत गर्दा निक्षेप संकलन दर वरिपरि अन्तरबैंक दर रहेको छ ।
आइतबार २१ दिनका लागि ५० अर्ब निक्षेप बोलकबोल हुने भएको छ । जसका लागि दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । उक्त उपकरणमा लगानी गर्नेले साँवा र ब्याज ७ पुसमा पाउनेछन् ।