स्थानीय तहको उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको आज बुधबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ ।

आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जानकारी दिएको छ ।

मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । यसअघि मंगलबार उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरिएको थियो ।

४४ पदका लागि भएको मनोनयनमा जम्मा दुईवटा उजुरीमात्रै परेको थियो । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us