काठमाण्डु, ३ मंसिर- नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङ छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार गुरुङले फेसबुकमार्फत केटी साथी बनाएर कसैलाई फ्रान्स र कसैलाई सिङ्गापुरे लाहुरे भएको बताउने गरेका थिए ।
फ्रान्स र सिङ्गापुर लैजाने आश्वासन दिएर चितवन र काठमाण्डुलगायत स्थानमा उनले युवतीहरुलाई भेट्ने गरेका थिए । उनले ठाउंअनुसार हुलिया बदल्ने र परिचयसमेत फेर्ने गरेका थिए ।
गुरुङलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।