गोरखा, ३ मंसिर–गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेबाट ल्याएर उपनिर्वाचनको उम्मेदवार बनाएको छ ।
आगामी १६ मंसिरमा हुने उपनिर्वचनका लागि रास्वपाले मंगलबहादुर थापालाई उम्मेदवार बनाएको हो । उनी एमाले स्थानीय नेता हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा थापा सोही वडाबाट वडा सदस्यका प्रत्यासी थिए ।
एमालेबाट निर्वाचित वडाअध्यक्ष खिलबहादुर रानाको १० कात्तिक ०७९ मा निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।
एमालेले स्वर्गीय राना पत्नी दुर्गामाया थापालाई उम्मेदवार बनाएको छ ।
रास्वपाले एमालेको बर्चस्व खोस्न पूर्वएमालेकै सहारा लिएको हो । उक्त वडालाई प्रतिष्ठाको विषय बनाएको रास्वपाले गण्डकी प्रदेशका पूर्वमन्त्री हरिशरण आचार्यलाई चुनावी अभियानको नेतृत्व दिएको छ । बाबुराम भट्टराई नेतृत्वको समाजवादीका नेता आचार्य दुई वर्षअघि रास्वपा प्रवेश गरेका थिए ।
वडाअध्यक्षका लागि १० जनाले उम्मेदवारी दर्ता गराएकामा ५ महिला छन् ।
सो वडामा कांग्रेसले भाइकाजी आले, माओवादी केन्द्रले विष्णुबहादुर रानामगर, राप्रपाले कल्पना राना, नेकपा एकीकृत समाजवादीले खड्गबहादुर भुजेल, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले रूपेश मंग्राती, राप्रपा नेपालले रूपसिंह राना, मंगल नेसनल अर्गनाइजेसनले भवानी थापामगर र नेसनल रिपब्लिक नेपालले सबिना तामाङलाई उम्मेदवार बनाएको छ ।
उक्त वडामा २ हजार २ सय २५ मतदाता छन् ।