कीर्तिपुरका उम्मेदवार विरुद्ध कुनै पनि उजुरी परेन

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १७:२३ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

२ मंसिर (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय तोकिएको थियो । दिउँसो ३ बजेसम्मका लागि तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिएकी छन ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जनाले उम्मेदवारी दिएका थिए । वडा नम्बर १ र २ गरी २२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका उनले जानकारी दिइन् ।

दलगत रूपमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जनमत, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us