कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलनको तयारी सुरु गरेको छ ।

संघर्ष समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने तयारी गरेको छ ।

समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी समेत दिएको छ ।

कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।

आज सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश नं.१ पुनस्नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रम सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको छ ।

प्रदेशको नाम कोशी मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेका छन् । ‘कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइनेछ’, संयुक्त संघर्ष समितिले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us